रुपा सुनार प्रकरणः २९ असारमा हाजिर हुन शिक्षा मन्त्री श्रेष्ठलाई सर्वोच्चको आदेश


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई असार २९ गते अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय विभेद गरेको भनिएकी काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई सरकारी गाडीमा लिएर घर लैजाने मन्त्री श्रेष्ठलाई पदबाट बर्खास्त गर्न भनि दिएको रिटमा सर्वोच्चले २९ गते मन्त्री श्रेष्ठलाई उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँगै दुबै पक्षलाई असार २९ गते अदालतमा छलफलका लागि बोलाएको छ ।

सिंहदरबारको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्दा मन्त्री श्रेष्ठले फिल्मी शैलीमा घरबेटी प्रधानलाई सरकारी गाडीमा घर लिएर गएका थिए ।

मन्त्री श्रेष्ठको यो कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आईन्दा यस्तो गल्ती नगर्न सुझाव दिएका थिए । मन्त्री श्रेष्ठले पनि आफूले अब आइन्दा त्यस्तो काम नगर्ने भनेर क्षमायाचना पनि गरे । तर, रुपा सुनारले जातीय विभेद गर्नेलाई कारबाहीको माग गर्दै न्यायका लागि सर्वोच्चमा मन्त्री श्रेष्ठ र घरबेटीविरुद्ध मुद्धा दायर गरेकी थिइन् । उनले दायर गरेको मुद्धामा मन्त्री श्रेष्ठको बर्खास्ती र घरबेटीलाई कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया