कांग्रेस महाधिवेशनः कृष्णप्रसादका तीन नाती नातिनाले गरे नेतृत्वमा दाबी, कसले मार्ला बाजी?


काठमाडौं– नेपालमा प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका कृष्णप्रसाद कोइराला मात्र यस्ता बाबु हुन् जसका तीन जना छोरा देशका प्रधानमन्त्री बनेका थिए। यसैको लिगेसीमा नेपाली कांग्रेसमा कोइराला परिवारको अभूतपूर्व उदय भएको थियो।

मात्रीका कोइरालादेखि विश्वेश्वर (वीपी) हुँदै गिरीजाप्रसाद कोइराला र अन्तिम पटक सुशील कोइरालाले कांग्रेसको नेतृत्व गरेका थिए। तर १३ औं महाधिवेशनमा भने यो लिगेसीलाई शेरबहादुर देउवाको सभापतिमा बिजयी यात्राले तोडेको थियो।

तर, फेरि पनि कोइराला परिवारको तेस्रो पुस्ता कांग्रेस नेतृत्वमा उदाउने रस्साकस्सीमा छ। कृष्णप्रसादका नाति नातिनाले १४ औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा दाबी गर्नु यसको प्रमाण हो।

शेखर, शशांक र सुजाता कोइरालाले फरक–फरक प्रकारका भेटमा आफूलाई सभापतिको दाबेदारी गरेका थिए। यद्यपि यीनको दाबी भने देउवाइतर खेमाभित्रकै अलग–अलग समूहबाट थियो।

शेखर केशवप्रसाद कोइरालाका छोरा हुन्। केशव कांग्रेस राजनीतिमा उतिसाह्रो चर्चामा नरहे पनि पछिल्लो पटक उनकी पत्नी तथा शेखरकी आमा नोना कोइरालाको भूमिका बलियो थियो। कोइराला निवासमा उनको छत्रछायाँमा नै गिरीजाप्रसाद कोइरालाको राजनीतिक जीवनले गति लिएको थियो।

शशांका वीपीपुत्र हुन् भने सुजाता गिरीजापुत्री हुन्। शशांक हाल कांग्रेस महामन्त्री छन् भने शेखर र सुजाता केन्द्रीय सदस्य हुन्। शेखर १३ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याउने लोकप्रिय केन्द्रीय सदस्य हुन्।

यी तीन मध्ये कसले मार्ला बाजी? जान्नेहरू भन्छन्,‘शेखरको पल्लाभारी छ। अन्तिम समयमा यी तीनै जना एकै ठाउँ उभिनेछन्। यद्यपि यसबीचमा देखिएका परिदृश्य भने त्यस्ता छैनन्।

शेखर कोइराला युवा नेता गगन थापासहितको टिम बनाउने अभ्यासमा सक्रिय छन्। जहाँ उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको साथ मागेका छन्। पौडेल सभापतिमा उम्मेदवारी घोषणाका लागि हच्किनुको कारण पनि यहि बनेको उच्च स्रोतले जनाएको छ।

शशांक भने आगामी नेतृत्वको दाबेदारीमा उत्रिँदा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहमा देखा परेका छन्। उक्त समूहबाट निधिले पनि सभापतिमा दाबी गरिरहेका कारणले यो समूहको गति महाधिवेशनको प्रतिस्पर्धाको दैलोसम्म मात्र हुने निश्चित रहेको देखिन्छ।

सुजाताले पहिलो पटक सभापतिमा महिलाको दाबेदारी प्रस्तुत गरेकी छन्। यद्यपि उनी यस पदका लागि मरिमेटेर लागेकी छैनन्। मण्डिखाटारस्थित निवासमा हालै बरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौलालाई डाकेर विकल्पमा आफूलाई उभ्याएकी छन्। उनले पौडेललाई भनेकी थिइन्,‘तपाई खुट्टा नटेक्ने हो भने म सभापतिमा लड्छु, सहयोग गर्नुहोस्।’

तर यसअघि यी तीनै जनाले कोइराला परिवार मध्य एक जनाको नेतृत्वमा उदय हुने दाबी पनि गरेका थिए।

जीपी कोइराला फान्डेशनले केही महिना अघि इटहरीमा गरेको फुटबल प्रतियोगिताको उद्घाटनका लागि पुगेका तीनै जनाले कोइराला विरासतमा कांग्रेसलाई उभ्याउने प्रण गरेका थिए। मञ्चबाट तीनै जनाले भनेका थिए,‘हामी मध्ये एक जना सभापतिका उम्मेदवार हुनेछौं।’ तर तीनै जनाले अलग–अलग हिसाबले दाबी गरेका छन्। महाधिवेशनको मैदानमा उत्रिँदा यी तीन जनाको पोजिशन कस्तो रहला?

‘महाधिवेशन अघि नेतृत्वमा दाबी गर्नु भनेको पार्टीभित्र आफ्नो हैसियतको मुल्यांकन गर्नु पनि हुन्छ। बार्गेनिङ टुलका रुपमा पनि यस्ता घोषणा हुने गरेका छन्। कोइराला परिवारबाटै पूर्वतयारीअनुसार सभापतिका उम्मेदवार शेखर हुन्, विकल्पमा शशांक र सुजाताले सहयोग गर्छन्’, बिराटनगरका एक जना पुराना कांग्रेस नेता भन्छन्,‘कोइराला परिवारको जगमा उभिएको कांग्रेसमा यी तीन जना मध्ये हुने एकै हुन्। दाबी भनेकोचाहिँ शेखरकै आधिकारिक हुनेछ।’

महाधिवेशनमा निर्विकल्प चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। देउवा पनि सभापतिमा लड्ने अभियानमा रहेका कारण कोइराला परिवारलाई सहज त छैन तर यी तीन मिलेको खण्डमा शेखरले बाजी मार्न सक्ने बताइन्छ।

प्रतिक्रिया