

रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु (अपडेट)

मस्को – रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मङ्गलवार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३।८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।
विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो । त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरूले बताएका छन् । विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै छ जना चालक दलका सदस्य थिए ।
रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान सुरु गरेको छ । दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छरिएको अवस्थामा भेटिएका थिए ।
कामचाट्का नागरिक उड्डयन संस्थाका उपनिर्देशक सर्गेई गोर्बले विमान समुद्रको चट्टानी भागमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जानकारी दिए । यो रुटमा विगतमा पनि हवाई दुर्घटना हुने गरेका थिए।

