युरोकप २०२०ः स्पेनलाई हराउँदै इटाली फाइनलमा


काठमाडौं – उपाधिको दाबेदार एवं पूर्व विश्वविजेता स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।

वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्दै उपाधिनजिक पुगेको हो ।

पेनाल्टीमा इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेली भने गोल गर्नबाट चुके ।

यता स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

पेनाल्टी अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्याण्ड र डेनमार्कको खेल आज राति नेपाली समय अनुसार १२ः४५ बजे हुनेछ ।

 

प्रतिक्रिया