प्रधानमन्त्रीद्वारा प्रतिष्ठानको शिलान्यास


सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका-१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको आज शिलान्यास गरेका हुन् ।

प्रतिष्ठानको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सप्तरीमा सर्वाधिक ठूलो परियोजनाको स्थापनाले उच्चस्तरीस्य शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रूपमा विकास हुने बताए ।

प्रतिष्ठानको स्थापनासँगै स्तरीय शिक्षा र स्वास्थ्यको अवसरले आर्थिक गतिविधि तीव्र हुनुका साथै पर्यटकीय गन्तव्य बन्ने उनले बताए । मुलुकमा रहेका अनेकौँ प्रकारका विविधतालाई सम्पत्ति र सम्पन्नताको रूपमा लिँदै सबै मिलेर गरिबी, पछौटेपन हटाउनुपर्ने तथा विकासका काममा एकजुट हुनुपर्ने प्रम ओलीले बताए ।

तोकिएको समयमा र गुणस्तरीयरूपमा प्रतिष्ठानको काम सक्न स्थानीय तह, जनप्रतिनिधि र जनसमुदायसँग प्रम ओलीले सहयोगको अपेक्षा गरे । प्रधानमन्त्री ओलीले प्रदेश नं २ का लागि सुनकोशी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोशी कमला डाइभर्सन निर्माण गरी सिँचाइ सुविधा पु¥याउने र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउ ।

‘एक प्रदेश एक प्रतिष्ठान’ निर्माण गर्ने लक्ष्यअनुसार सप्तरीमा प्रतिष्ठानको शिलान्यास गरिएको बताउँदै प्रम ओलीले प्रतिष्ठान स्थापनाले प्रदेश नं २ र छिमेकी जिल्लाका साथै भारतीय नागरिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनाले देखिने र लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाए । सप्तरीमा अहिलेसम्मका संरचनाभन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलियो र आकर्षक संरचना हुने भन्दै उनले बाहिरी पक्षमा मात्र आकर्षक नभई आन्तरिकरूपमा सेवा पनि बलियो हुने बताए ।

प्रतिष्ठानले रोजगारीको अवसर सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउँदै प्रम ओलीले यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने बताए ।

राजविराज-रुपनी सडकको विस्तार, औद्योगिक क्षेत्रको विकास, पुरातात्विक महत्वका ऐतिहासिक मठ, मन्दिर, धरोहरको संरक्षण, सीमा सुरक्षा, डुबानबाट बचाउने कार्य सरकारले गरिरहेको बताए । उनले हिमाल, पहाड, तराई तथा पूर्वदेखि पश्चिम सबैतिर विकास गर्ने र सबै खाले समस्या समाधानमा सरकार लागेको बताए ।

प्रतिक्रिया