कालोसूचीमा राखियो प्रचण्डका घरभेटीको कम्पनी, किसान ठग्न कतिसम्म गरेका थिए?


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शक्तिको आडमा किसानलाई ठग्ने ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र त्यसको साझेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ।

अधिकारी प्रचण्डका घरभेटी हुन्। खुमलटारस्थित ठूलो क्षेत्रफलमा रहेको अधिकारीको घरमा प्रचण्ड निशुल्क बस्छन्।

सार्वजनिक खरीद अुनगमन कार्यालयको सोमबार बसेको बैठकले मंगलबारदेखि शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुई–दुई वर्षका लागि कालोसूचीमा राखेको हो।

कृषि सामग्री कम्पनीले सिफारिश गरेका दुई कम्पनीले तोकिएका समयमा रासायनिक मलको ढुवानी गर्न नसकेपछि कम्पनीले धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

शक्ति केन्द्रको आडमा मल खरिदको ठेक्का लिएर पेश्की रकम पाउँदा पनि शैलुङ र मुक्तिनाथले मल किसानसम्म पुराएका थिएनन्। सिफारिस भएको झन्डै एक बर्षपछि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो।

सम्झौता बमोजिम अधिकारीको शैलुङ इन्टरप्राइजेजले ५० हजार मेट्रिक टन मल ल्याउनुपर्ने थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले अघिल्लो बर्षको भदौमा नै पत्राचार गरेको थियो।

कृषि सामाग्री कम्पनी अन्तरगतको ८० हजार मेट्रिकटन युरिया र डिएपी मल खरिद गर्ने ठेक्का विवादित व्यवसायी अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले पाएको थियो।

हरेक ठाउँमा पाएका ठेक्कामा बारम्बार विवादमा पर्ने गरेका अधिकारीका कम्पनी सडक आयोजना अलपत्र छाडेको भनेर बदनामी कमाएको शैलुङ कन्स्ट्रक्सन पनि हो। अधिकारीले प्रतीतपत्र खोलेको एक सय १७ दिन भित्र युरिया मल कम्पनीले तोकेको स्थानमै ल्याउनुपर्ने टेन्डर हात पारेका थिए।

कृषि सामाग्री कम्पनीले शैलुङ इन्टरप्राईजेजसँग २७ अप्रिल २०२० मा २५ हजार टन युरिया मल आयातका लागि सम्झौता गरेर प्रतितिपत्र खोलेको थियो।

३० हजार टन यूरीया मल आयात गर्न शैलुङसँग कृषि सामाग्री कम्पनीले असार १८ भदौ ०७७ मा सम्झौता गरेको थियो भने २५ हजार डिएपी मल आयातको टेन्डर पनि शैलुङ इन्टरप्राइजेजले सोही बेला पाएको थियो।

पहिलो २५ हजार मेट्रिक टन यूरिया आयात गर्न शैलुङ इन्टरप्राइजेजले ३ सय २० डलर प्रतिमेट्रिक टन दरमा बोलकबुल प्रस्ताव गरेको थियो। कम्पनीको लागि २५ हजार मेट्रिक टन यूरिया ल्याउन सो कम्पनीले ८० लाख डलर प्रस्ताव गरेको थियो।

दोस्रो बोलपत्रमा कम्पनीले ३ सय ११.५० सेन्ट डलरमा ३० हजार मेट्रिक टन युरिया ल्याउने प्रस्ताब गरेको थियो। यसका लागि शैलुङले ९३ लाख ४५ हजार डलरमा यूरीया ल्याउने कबुल गरेको थियो।

कम्पनीले एक किलो पनि मल नेपाल भित्राएन।

मल उत्पादक कम्पनीबाट मल नेपाल हिँडाएपछि कुल सम्झौताको १० प्रतिशत र बाँकी रकम नेपालमा मल हस्तान्तरणपछि मात्रै भूक्तानी गर्ने भए पनि पेश्की रकम अगाडि नै लगेको बताइन्छ।

प्रतिक्रिया