

सिंहदरबारमा एमाले कार्यदल बैठक, कोटेश्वरमा प्रचण्ड–नेपाल गन्थन

काठमाडौं– एमाले एकीकरणका निम्ति सिंहदरबारमा कार्यदलको बैठक चलिरहेका बेला कोटेश्वरस्थित नेता माधवकुमार नेपाललको निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रवेशलाई शंकास्पद रुपमा हेरिएको छ।
एकीकरणका निम्ति लगभग सहमतिको खाका बनिसकेको र त्यसलाई अन्तिम रुप दिने तयारी भएको बेला प्रचण्डले नेता नेपाललाई भेट्नु एमालेभित्रको सहमति भत्किने खतराका रुपमा धेरैले शंका गरेका हुन्।
मंगलबार जनकपुरबाट राजधानी उत्रिनासाथ प्रचण्ड नेता नेपालको निवासमा पुगेका हुन्। उनले जनकपुरमा प्रतिनिधि सभा पुनःस्थापन हुने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न सर्वोच्च अदालतले परमादेश दिने दाबी गरेका थिए।
‘एमालेभित्रको विवाद मिल्ने क्रममा रहेपछि प्रचण्डले माधव नेपाललाई भेटेर केही न केही भन्ने गरेका छन्। यसैले पनि यसलाई शंकाको कोणमा हेर्न आवश्यक छ’, प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक नेता भन्छन्,‘प्रचण्डले एमालेलाई फुटाउने रणनीति नै बनाएको भन्ने हाम्रो बुझाई हो। तर, हामी त्यसो हुन दिनेछैनौं।’

