

जसपा सम्भवतः आजै विभाजन हुने!

काठमाडौं– विवादको चरम उत्कर्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) सम्भवतः आजै विभाजन हुन सक्ने देखिएको छ। विवाद निरुपणका लागि निर्वाचन आयोगले उक्त दलका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाएको छ।
एकले अर्को पक्षलाई कारबाही गरेका पत्र आयोगमा पुगेपछि दुवैका कारबाही अनधिकृत भएको थियो। सहमतिका लागि आयोगले दुवै पक्षलाई बोलाएको स्रोतले जनाएको छ।
जसपाको ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा सरिक भएको छ। आयोग स्रोतका अनुसार अब दुवै दलबीच सहमतिको अवस्था नरहेको खण्डमा दलसम्बन्धी विवाद निरुपणको प्रक्रिया हुने र त्यो दल विभाजनसम्म हुन सक्नेछ।
जसपा पूर्व संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको थियो। प्रतिनिधि सभा विघटनको दोस्रो निर्णयमा ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई सहयोग गरेको छ भने यादव पक्ष त्यसको विरोधमा प्रतिपक्षी गठजोडमा रहेको छ।
केही दिन अघि मात्र विवाद बढ्ने अवस्था आए आफ्नो बाटोमा लाग्न सकिने प्रस्ताव ठाकुरले गरेका थिए। त्यसको अर्थ पूर्ववत् अवस्थामा फर्किन सकिने अर्थ थियो।
त्यसो हुँदा यादव पक्षलाई नोक्सानी हुने देखिन्छ। उनी पक्षधर कतिपय सांसद ठाकुरको खेमामा पुगेका छन् भने हालै बर्खास्त गरिएका २१ मन्त्रीहरुमा पनि परेका थिए। ‘मिलेसम्म मिलाउने प्रयत्न हुनेछ, नमिलेको खण्डमा एउटा निर्णय हुनेछ’, स्रोतले भन्यो,‘११ बजेका लागि बोलाइएको छ।’

