

प्रचण्डले फोटो खिचाएका मनाङेलाई देउवाले किन पत्याएनन्?

काठमाडौं– एमालेको गण्डकी प्रदेश सरकार ढाल्न सहयोग गरेका स्वतन्त्र सांसद रहेका र हाल मन्त्री पनि बनिसकेका दिपक मनाङेको नामबाट परिचित राजीव गुरुङलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एउटा फोटोका लागि नपत्याएको तथ्य सतहमा आएको छ।
कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई समर्थन गरेपछि मनाङे काठमाडौंमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवालाई भेट्नका लागि आएका थिए।
खुमलटार पुगेका उनले प्रचण्डसँग भेट गरी तस्बिर खिचाएका थिए। जसको तिव्र आलोचना भएको थियो। उक्त विषयमा गठबन्धनका तर्फबाट भएका विभिन्न ब्रिफिङका क्रममा प्रचण्डले जवाफ समेत दिनु परेको थियो। प्रचण्डले भनेका थिए,‘मसँग तस्बिर खिचाउँछु भन्ने दिपकजीको रहर रहेछ तस्बिर खिचाउँदैमा सहयोग हुन्छ भने ठिकै छ भनेर खिचाएको थिएँ।’
त्यसअघि मनाङेले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर पनि तस्बिर खिचाएका थिए र त्यो सामाजिक सञ्जालमा आलोचनात्मक रुपमा चर्चामा थियो।
बुढानिलकण्ठमा कांग्रेस सभापति देउवासँग पनि भेट पाएका मनाङेको तस्बिर खिचाउने रहर भए पनि त्यो पूरा हुन सकेन। स्रोतका अनुसार मनाङेले देउवालाई भेटपछि तस्बिर खिचाउनका लागि आग्रह गरेका थिए। तर देउवाले इन्कार गरिदिए।
जसरी सामाजिक सञ्जालमा प्रचण्ड र भट्टराईको आलोचना भयो त्यसरी नै महाधिवेशनको मुखमा आलोचित हुने आशंकाका कारण देउवाले उक्त अनुमति नदिएको बताइन्छ।
मनाङेले एमालेको समर्थनमा प्रदेश सभा चुनाव जिते पनि उनको राजनीतिक पृष्ठभूमी कांग्रेसबाट नै बनेको थियो। फेरि पनि कांग्रेसमा फर्किन सकिने राजनीतिक अर्थका रुपमा प्रचारमा विख्यात हुने रहरमा मनाङे तस्बिर खिच्न आतुर थिए तर देउवाले नपत्याउँदा उनको रहर पूरा नभएको बताइएको छ।

