

प्रधानमन्त्रीले विदेशी हस्तक्षेप भित्र्याउनु भयो : नारायणकाजी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि धोकाधडी गरेको आरोप लगाएका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले विदेशीसँग मिलेमतो गरेर संविधानमाथि प्रहार गरेको आरोप पनि लगाए । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताए ।
नेता श्रेष्ठले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’ उनले अघि भने, ‘उहाँले राष्ट्रियताको विषयमा जुन प्रकारको चर्चा थियो, त्यो धोका थियो र अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो ।’
त्यस्तै नेता श्रेष्ठले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको टिप्पणी गरे । उनले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाउँदै अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने बताए ।

