

बुढानिलकण्ठ छिरे निधि, महाधिवेशनमा देउवाले कस्तो बनाउँदैछन् रणनीति?

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको रणनीति बनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन्। फेरि नेतृत्वमा फर्किनेगरी तयारी गरेका देउवाले शनिबार निवासमा आफूनिकट नेतासँग रणनीतिबारे छलफल गरेका छन्।
उक्त बैठकमा सभापतिका अर्का दाबेदारी प्रस्तुत गरेका उपसभापति विमलेन्द्र निधि पनि पुगेका छन्। निधि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँगको त्रिपक्षीय समझदारीका एक साझेदार हुन्।
देउवा निवासमा उपसभापति विजयकुमार गच्छादार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायत पनि सहभागी छन्। देउवा यीनै नेताको टिम बनाएर महाधिवेशनमा जाने तयारीमा छन्।
तर सभापतिमा जसरी पनि उम्मेदवारी दिन्छु भनेका निधिको सहभागीता किन भयो?
कांग्रेस स्रोतले भन्यो,‘अहिले क्रियाशील सदस्यताको विवादको विषय टुंगो लगाउन भागबन्डाको समझदारी बनेको छ। त्यसमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने परामर्शका लागि निधि सहभागी हुनुभयो।’
त्यसो त निधिले सोही मौकामा सभापतिमा सहयोग गर्नका लागि पनि देउवासँग आग्रह गर्ने अनिवार्य छ।

