

कोपा अमेरिकाः ब्राजिल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि पेरुसँग भिड्ने

ब्राजिल – कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ। यस जितसँगै ब्राजिलले फाइनल प्रवेशका लागि पेरूसँगको भेट पक्का गरेको हो ।
शनिबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरू भए लगत्तै ब्राजिलले खेलमा अग्रता लियो। ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गोल गरे।
४८ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। फरवार्ड गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदान बाहिरिए । चिलीका डिफेन्डर मेनालाई जेससको प्रहारले मुख लागेपछि रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए।
त्यसपछि दोस्रो हाफभर चिलीले बललाई नियन्त्रणमा लिए पनि गोल गर्न भने सकेन। अब फाइनल प्रवेशका लागि ब्राजिलले पेरूसँग प्रतिस्पर्धा गर्नेछ।
पेरूले शनिबार विहान सबेर सम्पन्न खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। ब्राजिल र पेरूबीचको खेल आगामी मंगलबार हुनेछ।

