

युरोकप २०२०ः स्पेन र इटाली सेमिफाइनलमा, आज क्वाटरफाइनलका दुई खेल हुँदै

काठमाडौं – इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २—१ गोलले पराजित गर्दै कीर्तिमानी ३२ खेलमा अपराजित रहँदै इटालीले सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलको ३०औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।
पहिलो हाफमा इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई २—१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् । अन्ततः खेल इटालीले जित्यो ।
त्यसअघि स्पेनले रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३—१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा स्पेनले जित हासिल गर्यो । स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।
स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको दोस्रो हाफको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १—१ गोलको स्थितिमा ल्याएका थिए ।
खेलको ७८ औं मिनेटमा रेफ्रीले स्वीट्जरल्यान्ड फ्रिउलरलाई रेड कार्ड दिएसँगै १० खेलाडीमा सीमित बनेको थियो ।
त्यस्तै आज क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्दैछन् भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।
चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९स्४५ बजे हुनेछ ।
चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् ।
चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो ।
डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई हराएको थियो । युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।
इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२:४५ बजे हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् ।
इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । युक्रेनले भने स्वीडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो ।
इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ ।
आजको खेलसँगै युरोकपमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

