कांग्रेस रूपान्तरणको ‘नयाँ प्रस्ताव’ ल्याउँदै युवा नेता शाही


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको  १४ औं महाधिवेशनमा कांग्रेस रूपान्तरणको प्रस्ताव ल्याउने भएका छन् ।

कांग्रेस महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वको दाबी गर्नेहरूको सँख्या दिनदिनै थपिइरहेका छन् । शाहीले पार्टीभित्र वैचारिक बहसका लागि राजनीतिक प्रस्ताव ल्याउन लागेका हुन् ।

कांग्रेसमा अहिले भावी नेतृत्वको चर्चा भइरहँदा नीतिकाबारे भने कांग्रेसमा छलफल शून्य छ ।

‘कांग्रेस वैचारिक रूपमा सशक्त हुँदा मात्रै देश, लोकतन्त्र र संविधानको रक्षा हुन सक्छ । त्यसका लागि महाधिवेशन वैचारिक विमर्श गर्ने उपयुक्त थलो हो,’ युवा नेता शाहीले भने, ‘व्यक्ति होइन बिचार, पद होइन पद्दती, सत्ता होइन समाज, नेता होइन नितीको मुल मर्म र आदर्शमा आधारित नैतिक मुल्य मान्यता सहितको राजनीतिक सुरुवात नेपाली काङ्ग्रेसले गर्नुपर्छ।’

शाहीले पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि केही नयाँ प्रस्तावहरू ल्याउने बताएका छन् ।

कांग्रेसको विचारलाई सशक्त बनाउने र त्यसलाई तल्लो तहसम्म पुर्याउनका लागि जागरण अभियान चलाउने, समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनैपनि हालतमा दोहोर्‍याउनु नहुने, पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढि अवसर नपाउने व्यवस्था कडाईको रुपमा लागू गर्ने लगायतका प्रस्ताव ल्याउने गरि तयारी भइरहेको शाहीले बताए ।

युवा नेता शाहीले केही दिनमा कांग्रेस रूपान्तरणको सो प्रस्ताव वैचारिक विमर्शका लागि पुस्तककै रूपमा ल्याउने तयारी गरेका छन् ।

तरूण दलका महासचिव र नेविसंघका पुर्वउपाध्यक्ष रहिसकेका शाही आगामी महाधिवेशनमा सहमहामन्त्रीका आकांक्षी छन् ।  कांग्रेसका तर्फबाट शाही कालिकोटमा दुईपटक सांसदको चुनाव लडिसकेका छन् ।

प्रतिक्रिया