

यसकारण नेता नेपाल तत्काल एमाले एकता टार्न चहान्छन्, ओलीसँग फोनवार्ता

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउनका लागि नेता माधवकुमार नेपाल कस्सिएर लागेका छन्। प्रतिपक्षी गठबन्धनमा रहेका उनी प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाका पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिने अडानमा छन्।
पार्टी विभाजन नगरी संघर्ष नै गर्ने तयारीमा रहे पनि ओलीको प्रधानमन्त्री पद नगुमेसम्म एमाले एकीकरणलाई टार्दै अघि बढ्ने नेपालको चाहना रहेको स्रोतले दाबी गरेको छ। ओलीले सत्ता जोगाउनका लागि एकीकरण आह्वान गरेको ठम्याईका साथ आफू पक्षीय स्थायी कमिटीमा शुक्रबारका लागि बोलाइएको बैठकमा नजाने नेपालले निर्णय गराएका थिए।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेपछि मात्र ओलीसँग एकताको प्रक्रियाका विषयमा अघि बढ्नुपर्ने उनको चाहना रहेको बताइन्छ।
‘ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट हटाउनुपर्छ। अहिले एकीकरण गरे हामीले पार्टीगत हिसाबमा सहयोग गर्नुपर्ने हुन्छ। त्यसो हुँदा ओलीले सदन विघटनको औचित्य स्थापित गर्नेछन् भन्ने नेपालको सोचाई हो’, स्रोतले भन्यो,‘त्यसविरुद्ध यति लामो विरोध सभा र गठबन्धनमा जोडिएपछि ओलीसँग अहिले मिल्नु उचित नहुने उहाँको भनाई छ।’
केन्द्रीय कमिटी बैठकमा उपस्थित नहुने निर्णय गरेपछि एमाले नेता नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए।
विहीबार राती भएको टेलिफोन वार्तामा ओलीले एमाले एकढिक्का बनाउनका लागि बैठकमा आउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। पार्टी पुरानै अवस्थामा फर्काइएको र माओवादी छाडेर आएका नेताको व्यवस्थापन अनिवार्य भएकाले नेकपा स्थायी कमिटी तथा सचिवालयमा रहेका नेतालाई राखिएको ओलीले बताएका थिए।
‘एमाले विभाजनका लागि अनेक खेल भएका छन्। पार्टी एक गर्नका लागि बैठक बोलाइएको हो। सहभागी बन्नका लागि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ’, स्रोतले भन्यो,‘नेता नेपालले भने अहिले बैठक रोक्नका लागि भन्नुभयो।’

