एमालेमा ओलीको उदयले मुर्झाएका नेता नेपाल

संगत गर्नेहरु भन्छन्– विधिको रटान दिने, विरोधीलाई भित्तामै पछार्ने!


काठमाडौं– माधवकुमार नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले नवौं महाधिवेशनका बेला एउटा अन्तरवार्ताका क्रममा भनेका थिए,‘केपी शर्मा ओली विरामी छन्। तिनको भर छैन। माधव नेपाललाई अध्यक्षमा जिताऔं।’

त्यसअघि नै नेता नेपाल राजनीतिक रुपमा ओलीसामु मुर्झाएका थिए, संसदीय दलको चुनावको चोटले। नेपालले झलनाथ खनाललाई संसदीय दलका लागि पराजित उम्मेदवार बनाए। ०७० को संविधानसभाको दोस्रो निर्वाचनपछि बनेको व्यवस्थापिका संसदमा ओलीले दलको नेता प्रतिस्पर्धामा जितेका थिए जहाँ नेता नेपाल उनको विरोधमा उभिए।

बाहलवाला अध्यक्षलाई दलको नेतामा पराजित गरी एमालेमा बलियोगरी उदाएका ओली बिरामी अवस्थामा नै नवौं महाधिवेशनमा अध्यक्षमा नेपालविरुद्ध उभिए। नेपाल त्यहाँ पनि पराजित भएपछि राजनीतिक चोट बोकिरहेका थिए।

भूकम्पपछि भारतले नाकाबन्दी लगायो र ओली प्रधानमन्त्रीसहित एमाले नेताका रुपमा ‘राष्ट्रवादी’ छविका कारण लोकप्रिय बन्दै गए। विदेश विभाग प्रमुख रहेका नेता नेपाललाई ओलीको त्यो उदय मन परेको थिएन। ‘सायद विभिन्न मुलुकबाट ओलीको तिव्रता देखेर रोक्नका लागि नेपाललाई दबाब थियो, यसैले पनि उनी ओलीको विरोधमा कमिटीभित्र नोट अफ डिसेन्ट लेख्दै अघि बढे’, एमाले उच्च स्रोतले भन्यो।

नेता नेपालको स्वभावबारे जानकार हुन् हाल एमालेका महासचिव ईश्वर पोखरेल। बानी व्यवाहारबारे व्याख्या गर्दै उनी सोध्छन्,‘एमालेमा अध्यक्ष ओलीको सक्रियतामा कहिँ न कहिँ नेता नेपाललाई चित्त नबुझेको हुनुपर्छ। त्यसैले सार्वजनिक एउटा अन्तरवार्तामा नै एमाले र माओवादी एकतामा आफू सक्रिय रहनुको कारण ओलीलाई तह लगाउने उद्देश्य रहेको बताउनुभएको थियो। त्यसको अर्थ के हुन्छ?’

पोखरेलले नेता नेपालसँग कोओर्डिनेशन केन्द्र बनाउँदादेखि नै संगत गरेका थिए। उनी नेता नेपालको नेतृत्वको स्थायी कमिटीमा समेत बसेर काम गरेका नेता हुन्।

नेपालसँग संगत गरेका मालेका महासचिव सीपी मैनालीले त उनमा राजनीतिक भन्दा पनि पदीय अहंकार हावी रहेको टिप्पणी गरेका थिए। आफूलाई कर्नरमा पारेर अघि बढ्ने मामलामा पनि नेपालको भूमिका थियो। महासचिव पदबाट राजीनामा नगरे कारबाही गर्ने चेतावनी मैनालीलाई दिने पनि नेता नेपाल थिए, त्यसबखत।

‘नेता नेपालमा एक प्रकारको अस्वभाविक स्वभाव छ। आफूले भनेको पद नपाएपछि घुर्की जस्तो लगाउने। जब महासचिव रहेका मदन भण्डारीको निधन भयो, उनलाई कार्यबाहक महासचिवको जिम्मेवारी दिने प्रस्ताव भयो’, पोखरेलले कुनैबेला भनेका थिए,‘नेता नेपालले मलाई कार्यबाहक होइन, पूरै महासचिव चाहिन्छ। पार्टीले उनलाई त्यो जिम्मेवारी दियो।’

महासचिवको १५ बर्षको कार्यकालमा उनले एमालेको नयाँ सिद्धान्तको प्रतिपादन गरेनन् भने विचारको बहस चलाएनन्। बरु, आफ्ना विरोधीलाई भने सँधै कर्नरमा पारेर राख्ने काम गरेको उनका पुराना सहकर्मीहरु बताउँछन्।

एमालेमा नेपालको स्वभावबारे नेकपा अध्यक्ष ऋषिराम कट्टेलले भनेका छन्,‘आफू विरोधीलाई देख्नै नसक्ने स्वभाव भएका व्यक्ति हुन्। कतिपयलाई त पाखा लगाउनका लागि अनेक गर्ने। विधिको कुरा गर्ने, विरोधीको भविष्य नै विगार्ने शैली उनमा छ।’

५ पुस ०७७ देखि त नेता नेपाल ओलीको बिरोधमा खुलेर लागेका छन्। उनले नेकपा रहँदा नै अहंकारपूर्वक ओलीलाई अध्यक्षबाट हटाएर आफू अध्यक्ष बने। जबकि, उनको समूहमा रहेका झलनाथ खनाल बरिष्ठ थिए।

त्यसअघि नेकपा सचिवालयको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा हस्ताक्षर गरी ओलीलाई कर्नरमा राख्न खोजेका नेपाल अहिले पनि विपक्षी गठबन्धनमा रहेका छन्।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि पनि उनी एमालेको एउटा गुटलाई लिएर विपक्षी गठबन्धनमा छन् र ओलीको सेखी झार्ने बताउँदै आएका छन्। ‘सामान्यतया पार्टीभित्र संघर्ष गर्ने कुराकानी हुन्छ। समानान्तर गतिविधि र अध्यक्षविरुद्ध अर्को मोर्चा? विधि र सिद्धान्तको कुरा गर्नेले संघर्ष गरे पनि पार्टीभित्र गर्नु पर्दैन?’, एमालेका एक नेता भन्छन्,‘माधव नेपालमा त्यो चरित्र नै छैन।’

एमालेभित्र रहेको अहिलेको विवाद समाधानका निम्ति २ जेठ ०७५ मा फर्किने निर्णय भएको छ। राजनीतिक टकराबकाबीच ओलीले २८ फागुनमा घोषणा गरेको महाधिवेशन आयोजक कमिटी भंग गरी शुक्रबारका लागि एमालेको केन्द्रीय कमिटी बैठक डाकेका छन्। तर, नेपालले त्यसमा उपस्थिति नजनाउने बरु पार्टी विभाजन गर्ने बताइसकेका छन्।

एमाले जोगाउनका लागि ओली समूहसँग उनका अति निकट मानिएका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई वार्ता र छलफलमा सक्रिय छन्। त्यसलाई पनि नेता नेपालले स्वभाविक र सहमति उन्मुख रुपमा लिएका छैनन्।

‘नेकपा रहँदा एमालेमा विभाजन आउनुहुन्न, एमाले एक भएर अघि बढ्नुपर्छ भनी बालुवाटारमा छलफल हुने गरेको थियो। तर, त्यो तुरुन्तै खुमलटारमा पुग्थ्यो। नेता नेपाल सहभागी भएको त्यति गोप्य बैठक र छलफलको विषय त्यहाँ कसरी पुग्थ्यो?’, उच्च स्रोतले भन्यो,‘अनि नेता नेपालबारे विचरणीय प्रश्न भएन?’

प्रतिक्रिया