कोभिड: एफएफपीथ्री मास्कले ‘कोभिड सङ्क्रमण खतरा घटाउँछ’


काठमाडाैं – स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले कोरोनाभाइरस सङ्क्रमण रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने एक अध्ययनले देखाएको छ। केम्ब्रिज विश्वविद्यालय अस्पताल एनएचएस फाउन्डेशन ट्रस्टको अध्ययनले एफएफपीथ्री भनिने उच्च गुणस्तरको मास्कले शत प्रतिशतसम्म सुरक्षा दिने बताएको छ।

तर साधारण सर्जिकल मास्क लगाउने स्वास्थ्यकर्मीमा भने तुलनात्मक रूपमा भाइरस सङ्क्रमण हुने जोखिम उच्च हुन्छ। कोभिडको नियमित परीक्षणमा सहभागीको तथ्याङ्कको आधारमा सो निष्कर्ष निकालिएको हो। समीक्षा नगरिएको उक्त अध्ययन प्रतिवेदन प्री-प्रिन्टमा छापिएको छ।

यूकेको राष्ट्रिय निर्देशिकामा स्वास्थ्यरकर्मीले केही निश्चित परिस्थितिबाहेक अरूबेला सर्जिकल मास्क लगाउनुपर्ने उल्लेख छ। सर्जिकल मास्कहरूबाट पानी नछिर्ने भए पनि खुकुलो हुने भएका कारण हावामा हुने सूक्ष्म भाइरसका कणहरू स्वास्थ्यकर्मीमा प्रवेश पाउन सक्ने बताइन्छ।

अध्ययनले रेड वार्डमा रहेका कोभिड बिरामीको रेखदेख गर्नेहरूमा ग्रीन वार्ड वा ननकोभिड वार्डमा काम गर्नेको तुलनामा ४७ प्रतिशतले जोखिम बढी हुने देखाएको छ।

मास्कएफएफपीथ्री मास्कले उच्च स्तरको सुरक्षा दिने बताइएको छ।

प्रमुख अनुसन्धानकर्ता डा. मार्क फेरिसले कोभिड नलागोस् भनेर अनेक उपाय गर्दा पनि अस्पतालका कर्मचारी सङ्क्रमित बन्दै आएको बताए।

त्यसैले गत डिसेम्बरमा कोभिडको दोस्रो लहर सुरु हुँदा केम्ब्रिजका व्यवस्थापकहरूले रेड वार्डमा काम गर्नेहरूका लागि मास्कको गुणस्तर बढाउने निर्णय गरेका थिए।

डा. फेरिसले भने, ‘एफएफपीथ्री प्रयोग गरे के होला भनेर हेर्न बाँकी थियो, त्यही गरियो।’ एफएफपीथ्री लगाउँदा खुकुलो हुँदैन र एरोसोल फिल्टर गर्ने गरी विशेष डिजाइन गरिएको छ।

ठूलो असर

यो मास्क लगाउन थालेपछि रेड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीमा सङ्क्रमण दर ह्वात्तै घट्यो र त्यो ग्रीन वार्ड वा कोभिड बिरामी नभएका वार्डको काम गर्ने स्वास्थ्यकर्मीकै हाराहारीमा हुन पुग्यो।

अध्ययनमा एफएफपीथ्री मास्कले कोभिड १९ बिरामीबाट स्वास्थ्यकर्मीमा रोग सर्ने कुरा ३१ देखि सम्भवतः १०० प्रतिशतसम्म झर्‍यो। जसलाई सङ्क्रमण भयो त्यो पनि अस्पतालका कारण भन्दा पनि समुदायमा रहेको सङ्क्रमणका कारण भएको हुन सक्ने देखियो।

अध्ययनले तरल पदार्थ नछिर्ने सर्जिकल मास्कहरू स्वास्थ्यकर्मीलाई जोगाउन ‘अपर्याप्त’ रहेको बताएको छ। ‘वास्तविक प्रयोगमा आधारित अध्ययनले सर्जिकल मास्कभन्दा एफएफपीथ्री मास्क वास्तवमा प्रभावकारी भएको प्रमाण मिलेको छ,’ अध्ययन समूहका सदस्य डा. माइक वीक्सले भने।

उनले भने, ‘निश्चित रूपमा यो सानो तहमा गरिएको अध्ययन हो हामीले अन्यत्र पनि यस्तै गरेर हेर्नुपर्ने हुन्छ।’ ‘तर परिणामका आधारमा भन्नुपर्दा सावधानी अपनाउन कोरोनाभाइरसका बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क दिनु उचित हुन्छ।’

बढ्दो अभियान

केम्ब्रिज ट्रस्ट लगायत यूकेका १७ अन्य निकायले राष्ट्रिय निर्देशिका जे भए पनि पीपीईको गुणस्तर बढाउने निर्णय गरिसकेका छन्।

कोभिडसम्बन्धी काम गर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क उपलब्ध गराउन ब्रिटिश मेडिकल असोशियशन, द रोयल कलेज अफ नर्सिङ र अन्य व्यावसायिक निकायले लामो समयदेखि माग गर्दै आएका छन्।

यो महिनाको सुरुमा उच्च अधिकारीहरूसँग भएको बैठकमा पनि हावाले सर्ने यो रोग फैलिन रोक्न उच्च गुणस्तरका पीपीई उपलब्ध गराउन ती व्यावसायिक निकायले अनुरोध गरेका थिए।

द फ्रेस एअर एनएचएस परामर्श दाता र चिकित्सकहरूले नयाँ स्वास्थ्यमन्त्री साजिद जावेदलाई खुला पत्र लेख्दै केम्ब्रिजको नयाँ अध्ययन सरकारको अहिलेको नीति परिवर्तन गर्नुपर्ने प्रमाण भएको बताएका छन्।

एफएफपीथ्री मास्क सर्जिकल मास्कभन्दा अलि असजिलो लाग्ने भए पनि सर्भेहरूले कर्मचारीहरूले उच्च तहको सुरक्षा नै चाहने गरेको देखाएका छन्।

स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले पीपीई मापदण्ड उपलब्ध वैज्ञानिक तथ्याङ्कका आधारमा नियमित रूपमा अद्यावधिक गर्ने गरिएको बताए।

प्रतिक्रिया