

महानगरपालिकाले हटायो सरकारी जग्गामा बनेका टहरा

काठमाडौं – काठमाडौं महानगरपालिकाले अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी बनाइएका टहरा हटाएको छ ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाएको जानकारी दिए ।
‘हामीलाई जानकारी भए अनुसार करिब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरुले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भने, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ । हामीले काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौं ।’
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिए । ‘उहाँहरुको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन ।’
अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने उनले बताए । टहरा हटाउने सिलिसिलामा केही झडप समेत भएको थियो भने अवरोध गर्ने केही पक्राउ परेका छन् ।

