

हार्डलाइनर मानिने बेदुराम भुसालले माधव नेपाल समूह पनि परित्याग गर्नुको कारण

काठमाडौं– एमाले विवादपछि हार्डलाइनरका रुपमा देखा परेका राष्ट्रिय सभा सदस्य समेत रहेका नेता बेदुराम भुसाल नेता माधवकुमार नेपाल पक्षमा उभिएका थिए।
एमालेभित्र आन्तरिक विवादको रस्साकस्सी र मिलाउने विषयमा संस्थापन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष लचिलो बन्न थालेको छ। तर, यहिबीचमा भुसालले एमाले नै परित्याग गरेको घोषणा किन गरे? उनी नेपाल समूहमा पनि नरहने घोषणाको आन्तर्य के होला?
भुसालनिकट एक नेताका अनुसार एमालेभित्र विधि र विधानलाई ओलीले मात्र नभई नेता नेपालले पनि मिच्न थालेको, पार्टी विभाजनका लागि उद्दत हुँदै माओवादीले जे भन्यो त्यहि मानेका कारण परित्यागको घोषणा गरिएको हो।
‘एमाले सानो दुखले बनेको पार्टी होइन। तर दुई नेताको अहंकार र ज्यादतीले बिभाजनको अन्तिम विन्दुमा पुगेको छ’, भुसालनिकट नेता भन्छन्,‘यहि कारण यो फोहोरी अडानमा नबस्ने उहाँको घोषणा आएको हो।’
१६ असारका लागि ओलीले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक डाकेका छन्। उक्त कमिटी खारेज गर्दै बैठकमा सहभागी नभए नेता नेपाललगायतलाई कारबाही गर्ने तयारी पनि रहेको बताइन्छ।
एमालेको विवाद समाधान र मिलाउनका लागि ओली र नेपाल पक्षका दोस्रो तहका नेता सक्रिय रहेका थिए। नेपाल समूहकै ति नेताहरु एमाले विभाजनको दिशामा जान नदिने र २ जेठमा फर्किएर पुराना कमिटी ब्युँताए अदालतमा दिएको हस्ताक्षर फिर्ता लिन राजी समेत भएका छन्। तर नेता नेपाल यस कुरामा सहमत नहुँदा समझदारी गिजोलिने खतरा रहेको बताइन्छ।

