

कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न माधव नेपालको आह्वान

काठमाडौँ – नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन्दर्भमा सोमबार विज्ञप्ति जारी गर्दै नेपालले सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका हुन् ।
उनले अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयॅा आधार निर्माण गरिको पनि स्मरण गरे ।
लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ दुःखद रहेको उनले उल्लेख गरेका छन् ।
‘राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ नेपालले लेखेका छन् ।
शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरिएको उनको भनाइ छ ।

