

नेता भुसालले छाडे एमाले, स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्य रहने घोषणा

काठमाडौं – एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसाल नेकपा एमाले परित्याग गरेका छन् । भुषालले आफू नेकपाबाट निर्वाचित भएकोले आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यका हैसियत बस्ने भन्दै संसद सचिवालयमा पत्र पठाएको जनाइएको छ ।
भुसालले आफू नेकपाको निर्वाचित सदस्य भएकोले फागुन २३ को सर्वोच्चको फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको बताउँदै आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख गरेका छन् ।
भुसालले सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उनले पत्रमा थप भनेका छन्, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’
भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन् । उनले आफ्नो पारिश्रमिकबाट लेवी वा अन्य रकम अन्य कसैको खातामा पनि जम्मा नगरिदिन संसदको लेखा शाखालाई जानकारी गराइदिन समेत अनुरोध गरेका छन् ।

