‘राष्ट्रपतिको बदनियत देखियो’


काठमाडौं – वरिष्ठ अधिवक्ता सबिता भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियत राखेर प्रधानमन्त्रीमा नियुक्त गर्ने आधार हुँदाहुँदै पनि नगरेको बताएकी छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आइतबार देउवालगायतका निवेदकको तर्फबाट बहस गर्दै संवैधानिक इजलासमा अभिवक्ता भण्डारीले देउवासँग विश्वासको मत लिन सक्ने आधार हुँदाहुँदै पनि राष्ट्रपतिले बदनियत राखेर प्रधानमन्त्रीमा नियुक्त नगरेको जिकिर गरिन्।

‘प्रधानमन्त्री ओलीले पहिला ७६ (१) अनुसारको प्रधानमन्त्री हुँदा विघटन गर्नुभयो। पुनःस्थापनापछि पनि दुई वा दुईभन्दा बढी दल मिलेर अर्को सरकार बनाउन नसक्दा ओली फेरि ३ अनुसार प्रधानमन्त्री हुनुभयो। उहाँले विश्वासको मत नलिएर मार्ग प्रशस्त गर्नुभयो। विश्वासको मत नपाएपछि केपी ओली अब प्रधानमन्त्रीबाट संविधान अनुसार मुक्त भैसकेको अवस्था हो,’ अधिवक्ता भण्डारीले इजलासमा भनिन्।

त्यसपछि राष्ट्रपतिले शेर बहादुर देउवालाई नियुक्त नगरेर बदनियत राखेको भण्डारीको दाबी छ। ‘१४९ जनाको हस्ताक्षरसहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपथ्र्यो,’ भण्डारीले भनिन्, ‘‘प्रधानमन्त्री ओलीले मसँग एमालेको १२१ जना र जनता समाजवादी पार्टीका ३२ जनाले समर्थन दिएका छन् भनेर राष्ट्रपतिकहाँ जसरी जानुभयो, त्यो उहाँको अधिकार नै छैन्।’

७६ (३) अनुसारको प्रधानमन्त्रीले विश्वासको मत नलिएपछि फेरी ओली आफूलाई प्रधानमन्त्रीमा दावी गर्दै जान पाउने अधिकार नै नभएको भण्डारीको जिकिर छ। उनले थपिन्, ‘धारा ७६ को उपधारा ५ दलको लागि नभइ संसद सदस्यका लागि व्यवस्था गरिएको उपधारा हो। यो उपधारा दलहरुले सरकार दिन नसकेको अवस्थामा सांसदहरुले सरकार बनाउन सक्छौं भनेर संविधानले गरेको व्यवस्था हो।’

प्रतिक्रिया