

सरुवा, बढुवा र थमौतीका लागि एकजना प्रहरीपनि आफूकहाँ नआओस्ः नवनियुक्त गृहमन्त्री

काठमाडौं – नवनियुक्त गृहमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरीपनि आफूकहाँ नआउनको लागि निर्देशन दिएका छन्।
शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका हुन् ।
आफू गृहमन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै मन्त्री पौडेलले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए।
‘म कहाँ एउटापनि पुलिस नआओस्। अन्याय भयो भनेर साँच्ची नै अन्याय अनुभुत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु। नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस्,’ उनले भने।
‘प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ। मेरो जिम्मेवारी सहजीकरणको हो। हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही/जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौँ। त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ,’ पौडेलको भनाइ छ।
प्रहरी–प्रशासनमा चरक राजनीतिक दवाब हुुनेको गरेको गुनासोकाबीच नवनियुक्त गृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो। नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र हुनुपर्ने पौडेलले बताए।
उनले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उहाँले निर्देशन दिए। मन्त्री पौडेलले नतिजामुखि काम आफुले खोजेको पनि बताए।

