निषेधाज्ञाबारे निर्णय गर्दै तीन सिडिओको बैठक आज बस्ने


काठमाडौं – काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञा सकिदै गर्दा कोरोना नियन्त्रणमा निषेधाज्ञासम्बन्धी निर्णय गर्नका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने भएका छन् ।

आज दिउँसो बस्ने भनिएको बैठकले निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने जनाइएको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेकोले निषेधाज्ञा खुकुलो गर्ने जनाइएको छ । आजको बैठकले जोखिम कायमै रहेकोले निषेधाज्ञा भने जारी नै राख्ने जनाइएको छ ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।

यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो।

जोर/बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि सो बारे निर्णय भने भइसकेको छैन ।

प्रतिक्रिया