युवा संघको ‘म केही गर्छु’ प्रतियोगिता, विजेतालाई २ लाख ५० हजार


काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले ‘एनवाइएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ। निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य प्रतियोगिता आयोजना हुन लागेको हो।

शुक्रबार युवा संघले एक प्रेस विज्ञप्ति जारी गर्दै युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्र निर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोचसहित यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ।

‘प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले ‘म केही गर्छु’ विषयको केन्द्रमा रही स्क्रिप्ट बुझाउनु पर्नेछ। यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ। यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ,’ राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष पौडेलकाअनुसार यो प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले असार २५ सम्म स्क्रिप्ट पठाइ सक्नुपर्नेछ। यसरी आएका स्क्रिप्टबाट बनेकामध्ये पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्ने छन्।

प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह–आयोजक र नेसनल युथ काउन्सिल प्रोमोटर रहेको छ। प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग छ।

प्रतिक्रिया