

बाग्मती प्रदेश सरकारले संचार सम्बन्धी गरेको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
गत असार १ गते सार्वजनिक गरेको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा प्रदेश सरकारले आफ्नै संचार गृह स्थापनाका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
सोही विषयलाई लिएर शनिवार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका संचार क्षेत्र सम्बन्धी विषयहरुमा भर्चुअल अन्तरक्रिया गर्दै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेटमा प्रदेशमा रहेका संचार गृह र संचारकर्मीहरुलाई उपेक्षा गर्दै सरकारको स्वायत्त संस्थाको रुपमा आम संचार गृह स्थापना गर्ने गरी बजेट विनियोजन गरेको फिर्ता नभए चरणवद्ध आन्दोलन गर्ने घोषण गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले सरकार आफैंले संचारमाध्यम संचालन गर्ने निर्णय लोकतान्त्रिक राज्य व्यवस्थामा स्वीकार्य नहुने बताए ।
स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता विपरित प्रदेश सरकारले उक्त निर्णय गरेको र सरकारका तर्फबाट लोकतन्त्रको आधारभुत मुल्य र मान्यता माथि नै प्रहार गरेको भन्दै महासंघले आपत्ती जनाएको छ ।

