

मेलम्ची बाढी अपडेट : हराएकामध्ये चार जना सम्पर्कमा आए, २० जना अझै बेपत्ता

मेलम्ची – मंगलबार राती मेलम्ची नदीको बाढीमा हराएकामध्ये चार जना सम्पर्कमा आएका छन् । हराएकामध्ये तीन जनाको मृत्यु भएको छ भने चार जना बिहीबार साँझ सम्पर्कमा आएका छन् । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार १ असारको बाढीमा परेर २७ जना हराएका थिए ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी १, घोर थलीका १९ वर्षीय बिमल खत्री भन्ने देव खत्री, राम थापा, सुवास जिरेल र कमल खत्री सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
बाढीमा बेपत्ता भएका बाकी २० जनाको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
मेलम्ची बजार क्षेत्रका एक सय परिवार विस्थापित भएका छन् । उनीहरू विद्यालय र आफन्तको घरमा आश्रय लिइरहेका छन् । मेलम्चीघ्याङ क्षेत्रमा पहिरो आउँदा मेलम्ची नदि थुनिएको थियो । थुनिएको नदी अचानक विस्फोट हुँदा मेलम्चीमा ढुंगा, माटो र काठ सहितको लेदो बाढी आएको थियो ।

