नेपाल भ्रमण लगत्तै भारतीय सेनाध्यक्ष नरवणे किन पुगे कालापानी ?


रवि धामी

कञ्चनपुर भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले शुक्रबार कालापानी क्षेत्रको भ्रमण गरेका छन् । नेपाल भ्रमणबाट फर्केको एक साता नबित्तदै भएको भारतीय सेनाका प्रमुखको कालापानी भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कालापानी भ्रमणमा जानुअघि विहीबार उत्तराखण्डको पिथौरागढमा रहेको सेनाको पृतनामा बसेका नरवणे शुक्रबार विहान दलबलसहित हेलिकप्टरबाट कालापानी पुगेको भारतीय सुरक्षा स्रोतले बताएको छ। सेनाध्यक्षको कालापानी भ्रमणलाई भारतले अति गोप्य राखेको छ।

सेनाध्यक्ष नरवणे दिल्लीबाट भारतीय वायु सेनाको जहाजमा उत्तर प्रदेशको वरेलीमा रहेको वायुसेनाको हवाई वेसमा र त्यसपछि सेनाकै हेलिकोप्टरमा पिथौरागढ पुगेका थिए। त्यहाँबाट उनले लिपुलेक, कैलाशमानसरोवर जान भारतले हालै निर्माण गरेको सडकको स्थलगत तथा हवाई निरीक्षण गरेको बताइन्छ।

उत्तराखण्डस्थित आजतक टेलिभिजनका पत्रकार राजेश छावडाले भारतीय सेनाध्यक्ष नरवणेले कालापानीको भ्रमण गरेको जानकारी दिए। एक वर्ष अघि नेपालको कालापानी क्षेत्रलाई समेत समेटेर भारतले नयाँ नक्शा जारी गरेपछि बढेको नेपाल–भारत विवाद पछिल्लोपटक नेपालले लिपुलेकसमेत समेटेर नक्शा जारी गरेपछि उत्कर्षमा छ। करिव ७ महिनाअघि सोहि क्षेत्रमा भारतले एकतर्फी रुपमा कैलाशमानसरोवर जाने सडक निर्माण गरेको थियो।

नेपाल—भारत सिमा विवाद उत्कर्षमा रहेकै बेला पछिल्लो पटक ‘रअ’ प्रमुख सागनत गोयल र त्यसलगत्तै भारतीय सेनापतिको नेपाल भ्रमण भएको थियो। पछिल्ला दुई भ्रमण सकारात्मक बन्दै गएपछि भारतले विदेशसचिव र मन्त्रीस्तरमा भ्रमणको अन्तिम तयारी गरेको छ।

नेपाली सेनाका सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आएका नरवणेले आफ्नो तीन दिने औपचारिक भ्रमण सकेर गत शुक्रबार मात्रै दिल्ली फर्केका थिए। उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि समेत पाएका थिए।

प्रतिक्रिया