

ट्यांकर चालकलाई खोप व्यवस्था गर्ने निर्णयपछि हट्यो पेट्रोलियम ढुवानीको अवरोध

काठमाडौं – नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।
कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने सहमती भएपछि आन्दोलन फिर्ता लिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।
कोरोनाविरुद्धको खोप भोलि बुधबार देखि उपलब्ध हुने उनले बताए । उनले भने,‘अब पेट्रोलियम पदार्थको ढुवानी सेवा आजबाट नै शुरु हुन्छ । चालक र सहचालकले भोलिबाट कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।’
हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाले बताए ।

