कांग्रेस नेता पौडेलको अचम्म पार्ने प्रस्ताव, महाधिवेशन रोकेर के गर्नु भन्दैछन्?


काठमाडौंनेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको मिति टुंगो लागेपछि सबैलाई अचम्ममा पार्ने नयाँ प्रस्ताव अघि सारेका छन्। तर, उनले यस्तो प्रस्ताव आफूनिकट नेताहरूको गोप्य बैठकमा राखेका थिए।

नेता प्रकाशमानसिंहको निवासमा भएको बैठकमा पौडेलले महाधिवेशन दुई बर्ष सारेर त्यस बेलासम्मका लागि दुई जना सभापति बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

उच्च स्रोतका अनुसार कांग्रेसको आगामी नेतृत्वका लागि पौडेललाई कोइराला परिवारको पनि साथ नरहने चाल पाएपछि उनले आफू सभापति बन्नका लागि यस्तो प्रस्ताव अघि सारेका हुन्। तर, त्यसमा उनकै समूहका नेताले आपत्ति जनाएका थिए।

१६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने मिति तय गरी सभापति शेरबहादुर देउवाले विहीबारका लागि केन्द्रीय समितिको बैठक पनि डाकिसकेका छन्। तर, महाधिवेशनमा आफू पराजित हुने अथवा कुनै पनि बलियो समूहको उम्मेदवारका रुपमा नपर्ने भएपछि पौडेलको उक्त प्रस्ताव आएको हो।

पौडेल १३ औं महाधिवेशनमा पनि देउवासँग पराजित भएका थिए। त्यसबेला देउवाइतरका सबैको सहयोग उनलाई रहेको थियो। तर, नेतृत्व परिवर्तनको अभ्यासका रुपमा यस पटक भने कोइराला परिवारबाट शेखर कोइराला सभापतिका लागि दौडमा छन् भने अन्य नेता पनि आफ्नै दाउ दाबीमा छन्।

देउवा पक्षमा उपसभापति विमलेन्द्र निधि मात्र सर्तसहित आकांक्षी छन् भने सहमति भएको खण्डमा देउवा आफैं सभापतिका उम्मेदवार लगभग पक्कापक्की छन्।

तर, पौडेल खेमामा भने प्रकाशमानसिंहदेखि अन्य पनि सभापतिका लागि आकांक्षी छन्। जसका कारण उनले यस पटक समूहकै नेतृत्व गर्ने सम्भावना क्षीण रहेकाले यस्तो प्रस्ताव अघि सारेका हुन्।

हामीले उहाँलाई सभापतिका लागि मौका दिएका हौं, जित्न सक्नुभएन। अब विश्राम लिएर अर्को पुस्ताका लागि पनि बाटो खोल्नुपर्छ, पौडेलनिकट कै एक नेता भन्छन्,‘अब कांग्रेसमा नयाँ नेतृत्व जसरी पनि आउनेछ।

प्रतिक्रिया