सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण


सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सभामुखले बाह्रबीसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिका, जलवीरेस्थित जलवीरे प्राथमिक स्वास्थ्यलाई सामग्री हस्तान्तरण गरेका हुन्।

सभामुख सापकोटाले केन्द्रको अवलोकन गरी नगर प्रमुख निमफुन्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रिन र केन्द्रका निमित्त प्रमुख डा अनिलकुमार राउतसँग केन्द्रमार्फत दिइएको स्वास्थ्य सेवा र अभावका बारेमा जानकारी लिएका थिए

स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर
सभामुख सापकोटाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको रकमबाट जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर गरिएको छ । यसअघि पनि चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाकालगायत पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर गरिएको थियो ।

विपद्पूर्व तयारीमा जुट्न आग्रह
सभामुख सापकोटाले स्थानिय तहका जनप्रतिनिधिलाई वर्षात्का कारण हुन सक्ने सम्भावित जोखिम र कोभिड–१९ को सम्भावित तेस्रो लहरका लागि पूर्वतयारीमा रहन आग्रह गरे । बाह्रबीसे नगरपालिका प्रमुख र उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतसँगको छलफलका क्रममा उनले नगरपालिका गरिरहेको पूर्वतयारीका सम्बन्धमा जानकारी लिएका थिए। यस्तै सभामुख सापकोटाले बलेफी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बद्ध अधिकारीलाई सम्भावित विपत्तिबारे सतर्क रहन र पूर्वतयारीमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया