

वित्तीय संस्था नियमन विभागद्वारा जारी सूचना संसोधन, बैंकहरुको संख्या निर्धारण खारेज

काठमाडौं – नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जेठ १० गतेका सूचनालाई संसोधन गरेको छ ।
विभागको सुचनालाई संसोधन गरी राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बैंकका शाखाहरु खोल्न गरिएको कडाइलाई केही खुकुलो बनाएको छ ।
अघिल्लो सूचनामा काठमाडौं उपत्यकाका बैंक तथा वित्तिय संस्थाहरुलाई आलोपालो गरेर सञ्चालन गर्न भनिएको थियो । त्यसअनुसार वाणिज्य बैंकले दैनिक ३ वटा, विकास बैंकले २ वटा र वित्त कम्पनीले १-१ वटा एक-एक वटा मात्रै शाखा खोल्न सक्थे । अब त्यो कोटा हटाइएको छ ।
आवश्यकताका आधारमा सिमित शाखाहरु सञ्चालन गर्न अनुमति दिइएका राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘अरु कुराहरु पुरानै हुन्, तर अब पहिले गरिएको संख्या निर्धारण चाहिँ खारेज भएको छ,’ उनले भने ।
बैंकका शाखामा हुने भिडभाडलाई मध्यनजर गर्दै २० प्रतिशत जनशक्ति व्यवस्थापन गरी शाखा सञ्चालन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।
कोभिड १९ संक्रमणको जोखिम अझै पनि कम भइनसकेको भन्दै केन्द्रीय बैंकले डिजिटल बैंकिङ प्रणाली सञ्चालनमा जोड दिएको छ । ‘वर्क फरम होम’ र ‘रिमोट एक्सेस’ लाई निरन्तरता दिन यसले जोड दिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गर्ने आदेशलाई ध्यानमा राखी आवश्यक समन्वय गरेर सेवा प्रवाह गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

