

खोप लगाएका व्यक्तिको शरीरमा चम्चा र सिक्का टाँसिन्छ त? यस्तो छ वास्तविकता

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि यतिबेला विश्व नै यसविरुद्धको खोपप्रति आशावादी बनिरहेको छ।विश्वका अधिकांश देशहरुमा अहिले कोरोनाविरुद्धको खोप लगाउने लहर नै जारी छ।
नेपालमा पनि यो भाइरसविरुद्धको खोप अभियान जारी छ। खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने जस्ता सामान्य असर देखिएको सुनिँदै आएको छ।
तर, केही खोपविरोधी तत्वहरु भने खोपबारे विभिन्न प्रकारका भ्रमहरु फैलाउन सक्रिय छन्। यतिबेला सामाजिक सञ्जालमा कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिको शरीरमा चुम्बकीय शक्ति बढ्छ भन्ने दावी गरिएका भिडियो पोष्ट हुने क्रम बढेको छ।
केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो। भारत महाराष्ट्र पुणेका अरविंद सोनारले आफुले कोरोनाको दुवै डोज खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेका छन्।
उनले कोरोनाको खोप लगाएपछि शरीरमा चुम्बकीय शक्ति आएको बताएका छन्। उनले प्रमाणस्वरुप सामाजिक सञ्जालमा भिडियो नै सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनको शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ।
तर, कोभिड–१९ विरुद्धको खोप लगाएपछि शरीरमा फलामजन्य धातु टाँसिएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैसिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ष्टीकरण दिएको छ।
कारोना विरुद्धको खोप लगाएपछि यस्ता धातुहरु टाँसिएको भन्दै प्रचार गर्न थालेपछि स्वास्थ्य मन्त्रालयले प्रस्ष्टीकरण दिँदै कोरोना विरुद्धको खोपले शरीर चुम्बकीय नबन्ने बताउँदै कोभिड—१९ को खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने बताएको छ।
मन्त्रालयले एक प्रचार सामग्री बनाएर कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
मन्त्रालयले भनेको छ– ‘कोभिड–१९ का खोपहरुमा कुनै प्रकारको धातु अथवा माइक्रोचिपहरु हुँदैन। त्यसैले यस्ता अफवाहहरुको विश्वास नगरौं। कोभिड–१९ को खोप सुरक्षित छ र प्रभावकारी छ। यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।’
विशेषज्ञहरु भन्छन्– ‘कोरोनाबाट बचाउनका लागि खोप नै एक मात्र हतियार हो।’ यद्यपि, केही मानिसहरु भने यही खोपविरुद्ध भ्रम फैलाउनमा उद्यत छन्। केही मानिसहरु खोप र खोप विरुद्ध भ्रम फैलाउने कार्यमा सक्रिय छन्।

