प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका नरोत्तमले मागे माफी


काठमाडौं – बागमति प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले शुक्रबारको बैठकमा आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका छन्।

शनिबार प्रदेशसभा बैठक शुरु भएलगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए।

भारतमा १९४८ को जनवरी ३० मा नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए। सोही प्रसंग ल्याउँदै वैद्यले पनि प्रधानमन्त्रीको हत्या गर्न त्यस्तै गोड्से अघि सर्नुपर्ने विवादित अभिव्यक्ति दिएका हुन्।

वैद्यको यस्तो अभिव्यक्ति सबैतिर आलोचना भइरहेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयमता गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका थिए।

लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन्।

वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराएका छन्।

यता, नेकपा एमाले माधव नेपाल पक्षका एक नेताले नरोत्तम वैद्यको भनाई बचाउ गर्दै साथ दिएका छन्। वैद्यको अभिव्यक्ति अहिले सबैतिर आलोचना भइरहेको बेला एमालेका नेताले सत्य उजागर गरेकोमा धन्यवाद दिएका छन्।

दाङ जिल्ला क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सामाजिक सञ्जालमार्फत वैद्यको अभिव्यक्ति अप्रिय लागेपनि सत्य नै भएको बताएका हुन्। यद्यपी उनको यो भनाइबारे सबैले नकारात्मक टिप्पणी गरेका छन्।

प्रतिक्रिया