सुदूरपश्चिममा फ्लोर क्रस गर्ने माधव पक्षका १७ सांसदलाई २४ घण्टे अल्टिमेटम


धनगढी – गत मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधेको हो ।

१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।

उनले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए ।

प्रतिक्रिया