

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा प्रस्ताव पेश गरेका हुन् ।
मुख्यमन्त्री भट्टलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ। एमालेको ओली खेमाको असन्तुष्टिका बीच विश्वासको मत दिने निर्णय भएको हो । सुदूरपश्चिममा एमालेको माधव नेपाल पक्षको बहुमत रहेको छ। यस्तै काँग्रेसले आवश्यक पर्दा मत दिने गरी तटस्थ बस्ने निर्णय गरेको छ ।
विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

