

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) संसदबाट लिन लागेको विश्वासको मतका पक्षमा मतदान गर्ने एमाले संसदीय दलको निर्णय गरेका हुन् ।
आज (मंगलबार) विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।
बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको खड्काले जानकारी दिए ।
बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । तर बहुमत पक्षले फरक मत पनि राख्न नदिएको एक सांसदले बताए ।
अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।
एमालेका २४ सदस्यीय संसदीय दलका ओली पक्षका ७ जना छन् ।

