

उत्तर कोरियामा विदेशी कपडा लगाए र फिल्म हेरे मृत्युदण्डको सजाय

काठमाडौं – उत्तर कोरियाले आफ्नो मुलुकमा विदेशी प्रभाव रोक्ने भन्दै नयाँ कानुन जारी गरेको छ । नेता किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन सो कानुन जारी गरेका हुन् ।
नयाँ कानुन अनुसार उत्तर कोरियामा विदेशी चलचित्र प्रदर्शनीमा रोक लगाइएको छ । यस्तै विदेशी कपडा प्रयोग गर्नेले कानुनी कारवाहीको भागीदार हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ ।
यस्तै विदेशी फेसनको नक्कल गर्नेमाथि पनि कडा कारवाही गर्न नेता उनले निर्देशन दिएको बताइएको छ । यसैगरी अवैध भिडियो हेरेमा मृत्युदण्ड दिने नयाँ कानुनमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।
इन्टरनेटमा राज्यको नियन्त्रण कायमै राखिएको छ भने सरकारी सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम सञ्चालनमा रोक लगाइएको छ । उत्तर कोरियाले आफ्नो मुलुक बाहिरको सूचनामा नागरिकमाथि नियन्त्रण गर्न खोजेको विश्लेषकहरुले बताएका छन् ।
लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको उत्तरले गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरका बारेमा हालसम्म पनि आधिकारीक सूचना बाहिर ल्याएको छैन । यसै वर्षको सुरुमा नेता किमले आफ्ना नागरिक कष्टपूर्ण जीवनयापन गरिरहेको बताए पनि अन्यत्रको सहयोग नलिने घोषणा गरेका थिए । एजेन्सी

