

म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छः ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव एवंम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा संकट देखापरेको हुँदा यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
करिब साढे तीन वर्ष सरकारमा रहेका पोखरेल हालै मन्त्रिपरिषद् पुनर्गठन हुँदा बाहिरिएका पोखरेलले अब पार्टीको काममा सक्रिय हुने बताउँदै यस विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसित कुराहरू भइरहेको बताए।
उपप्रधानमन्त्रीबाट बाहिरिएको २ दिनपछि पोखरेलले अब फेरि पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
‘साथीहरू सबैलाई थाहा छ– म नेकपा (एमाले)को महाधिवेशनबाट निर्वाचित महासचिव। तर ‘महान र ऐतिहासिक’ भनिएको एमाले– माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन! तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु।’
महासचिव पोखरेल अहिले ‘सबैतिर छ पार्टी– तर कहिँ पनि छैन पार्टी’ जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन्। यसलाई बदल्ने अभियान सञ्चालन गर्ने संस्थाको महासचिव भएर आफूले भूमिका खेल्नुपर्ने पोखरेलको भनाइ छ।
उनले भनेका छन्, ‘दुर्भाग्य नै हो, यतिबेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ। यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ। चुनौतीहरू थुप्रै किसिमका छन्। राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिँदैछ।’
पार्टीलाई फुटबाट जोगाउन पनि संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने पोखरेलको ठहर छ।

