पत्रकार अर्नबलाई अदालतले दियो जमानत


नयाँदिल्ली(एजेन्सी)– आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामी र सहअभियुक्तलाई सुप्रिम कोर्टले जमानत दिएको छ । अर्नब गत बुधबार नोभेम्बर ४ का दिन मुम्बईस्थित उनको घरबाट पक्राउ परेका थिए । उनको गिरफ्तारीको भिडियो निकै भाइरल भएको थियो । बिहानै अर्नबको घरमा पुगेको प्रहरीले उनलाई भ्यानमा राखेर लगेको थियो । सुप्रिम कोर्टले बम्बई हाइकोर्टले अर्नबलाई जमानत नदिनु गलत भएको बताएको छ ।

अर्नबले पहिला जमानतका लागि बम्बई हाईकोर्टमा निवेदन दिएका थिए । तर कोर्टले जमानत दिन अस्वीकार गरेपछि उनी सुप्रिम कोर्ट गएका थिए । न्यायधिस चन्द्रचूडको अध्यक्षतामा बसेको बेन्चले अर्नब र अन्य दुई अभियुक्तलाई ५० हजार रुपैंयाँ धरौटीमा अन्तरिम जमानत दिएको हो । कोर्टले प्रहरी अधिकारीहरुलाई आदेशलाई तुरुन्तै लागु गर्न निर्देश गरेको छ ।

कोर्टले गोस्वामी र अन्य अभियुक्तलाई अनुसन्धानमा सहयोग गर्न र प्रमाणलाई कुनै किसिमको हस्तक्षेप नगर्ने भनेको छ । अर्नबलाई ५३ वर्षका एक इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको मामलामा पक्राउ गरिएको थियो । कोर्टले उनीहरुलाई १४ दिको न्यायिक हिरासतमा पठाएको थियो । मुम्बई प्रहरीले अर्नबलाई आत्महत्याका लागि उक्साएको आरोपमा २०१८ को आइपीसीको धारा ३०६ अनुसार पक्राउ गरेको थियो ।

रिपब्लिक टेलिभिजनले भने बन्द भइसकेको मुद्धालाई पुनः खोलिएको जनाएको छ । सन् २०१८ को मेमा आत्महत्या गर्नुअघि अन्वयले एक चिठी लेख्दै अर्नबले रिपब्लिक स्टुडियोको इन्टेरियर डिजाइन गरेपछि पैसा नदिएको आरोप लगाएका थिए । यही वर्षको सेप्टेम्बरमा महाराष्ट्र विधानसभामा रिपब्लिक टेलिभिजनको सम्पादक अर्नबको विरुद्ध विशेषाधिकार हननको प्रस्ताव दर्ता गराइएको थियो । जसलाई विधानसभाले स्वीकारेको थियो ।

प्रतिक्रिया