

१६० यात्रुसहित पोल्याण्ड उडेको विमान बमको धम्कीपछि बर्लिनमा आपत्कालीन अवतरण

बर्लिन – डब्लिनबाट पोल्याण्ड जाँदै गरेको यात्रुवाहक विमान बर्लिनमा आपतकालीन अवतरण भएको छ । जर्मन प्रहरीका अनुसार रायन एयरको विमान आइतबार बर्लिनमा अवतरण गरेको हो ।
विमानमा बमको धम्की आएपछि पोल्याण्डको क्राको सहर पुग्नुअघि उक्त विमान आपतकालीन रुपमा बर्लिनमा अवतरण गरिएको जर्मन मिडियाले जनाएका छन् ।
१६० यात्रुसहित उडेको उक्त विमान स्थानीय समय अनुसार आइतबार साँझ ८ बजे बर्लिन ब्रान्डेनबर्ग विमानस्थलमा अवतर भएको थियो । जर्मन प्रहरीका अनुसार विमान अवतरण गरेपछि अधिकृतहरुले सुरक्षा चेकजाँच गरेका थिए । तर कुनै खतरा भेटिएन।
विमानलाई खाली गराएर समेत सुरक्षा चेकजाँच गर्दा कुनै खतरा नभेटिएको प्रहरीको भनाइ छ । रायन एयरकै अर्को यात्रुवाहक विमान एक साताअघि वलपूर्वक बेलारुसमा अवतरण गर्न लगाइएको थियो ।
यस्तै गत वर्षको जुलाइमा पनि रायन एयरकै विमान डब्लिनबाट क्राको जाँदै गर्दा विमानभित्र बम रहेको गलत धम्कीका कारण लण्डनमा आपतकालीन अवतरण गराइएको थियो ।

