

विपक्षी दल तथा विज्ञहरुलाई अर्थमन्त्रीको जवाफ- ‘बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयन गरेर देखाउँछौं’

काठमाडौं – बजेटको कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने, ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौं ।’
उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।
विपक्षी दल तथा विज्ञहरुले अहिलेको समयमा काम चलाउ बजेट ल्याउनु पर्ने बताईरहँदा मन्त्री पौडेलले भने ‘योभन्दा अर्को वैधानिक विकल्प थिएन । यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन मिल्दैनथ्यो ।’

