

बजेटको कार्यान्वयन गरेर देखाउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं – आर्थिक वर्ष २०७८/७९ को बजेट सरकारले कार्यान्वयन गरेर देखाउने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन्।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गरेपनि कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता जनाएका हुन्।
पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, ‘म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो। कार्यान्वयन गरेर देखाउँछौं।’
मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताए।
सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए।

