

८ महिनाअघि प्रेम विवाह गरेका सुरेश र सरिताको दुखद अन्त्य

काठमाडौं– गत बर्षको असोजमा प्रेमलाई सार्थक जीवन दिन सुरेश कठायत र सरिता रावतले बिहे गरेका थिए। लगभग ८ महिना भएको थियो लगनगाँठो कसेको। तर यी जोडीको दुखद अन्त्य भएको छ।
डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेशको कोरोना संक्रमणबाट मृत्यु भएको केही घण्टामा नै पत्नी सरिताले झुण्डिएर आत्महत्या गरेकी छन्।
शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेकी हुन्।
कठायतलाई ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पतालमा १४ दिनअघि भर्ना गरिएको थियो। उनको कुरुवा बसेकी थिइन्, सरिता।
‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मृत्यु भएको खबर आयो। मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परिन्’, वडाध्यक्ष खगेन्द्र रावतले भने,‘सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए।’

