उपेन्द्र यादवलाई धक्का, राजपा ब्युँताउँदै महन्थ ठाकुर


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई निष्काशनको पत्र तयार पारेका अर्का अध्यक्ष उपेन्द्र यादवलाई धक्का लाग्ने भएको छ।

स्पष्टिकरणको जुहारी चलिरहेका बेला आइतबार दिउँसो यादवले चार नेतालाई निष्काशनको पत्र तयार पारिरहेका बेला उता ठाकुरले राष्ट्रिय जनता पार्टी ब्युँताउने तयारी गरेका छन्।

प्रतिपक्षी गठबन्धनमा रहेका यादव र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका ठाकुरबीचको विवादले जसपामा विभाजनको डिलमा पुगेको थियो। बहुमत कार्यकारिणी सदस्यको दाबी गरेका यादवले कारबाही गरेको खण्डमा ठाकुरले पनि पहिला यादवलगायतलाई कारबाहीको पत्र पठाउनेछन्।

उच्च स्रोतका अनुसार यो विवादले चरम रुप लिएको खण्डमा ठाकुरले राजपा ब्युँताउने तयारी भएको हो। ‘मधेसका मागमा अडिग भएर बसेको र अहिले पूरा हुने समयमा सत्तामा जानका लागि विपक्षी गठबन्धनसँग मिलेका छन् हामी पार्टी ब्युँताउनेछौं’, एक नेताले भने,‘हामी मधेसका एजेन्डाका खास शक्ति हौं, भोली यादव कुन एजेन्डा लिएर छिर्छन् अनि हेरौंला।’

निर्वाचन आयोगमा विघटित प्रतिनिधि सभाका बहुमत सदस्यको हस्ताक्षर र कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरका आधारमा ठाकुरले पार्टी ब्युँताउने तयारी गरेको बुझिएको छ। यस विषयमा ठाकुर पक्षले कानुन व्यावसायीसँग पनि परामर्श थालेको बताइएको छ।

प्रतिक्रिया