

बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

काठमाडौँ – बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्रीहरू काठमाडौँ आइपुगेको छ ।
२६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रवार बिहान चार्टर्ड उडानबाट काठमाडौँ ल्याइएको हो ।
ती सामग्रीहरू शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ ।
थप मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।

