
सभापति नउठ्न देउवासँग निधिको सर्तः गगन र विश्वप्रकाशलाई महामन्त्रीमा रोक्नुस्
काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा दाबी गरिरहेका उप–सभापति विमलेन्द्र निधिले सभापति देउवासँग अनौठो सर्त अघि सारेका छन्।
देउवानिकट रहेका निधिले आफूलाई सभापति पदको उम्मेदवारमा रोक्नका लागि केन्द्रीय सदस्य गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्मालाई महामन्त्री पदमा रोक्नुपर्ने सर्त अघि सारेको कांग्रेस स्रोतले जनाएको छ।
फागुनका लागि महाधिवेशन तोकिएपछि कांग्रेसमा अनेक प्रकारका समिकरणका विवरण बाहिर आएका थिए। यहि क्रममा निधिले सभापति पदमा उठ्नेगरी अभ्यास थालेका छन्।
निधि सभापतिमा उठ्ने भएपछि देउवा फेरि नेतृत्वमा आउन अप्ठेरो पर्ने निश्चितप्रायः हुँदा उनलाई रोक्न छलफल भएको थियो। सो क्रममा निधिले आफूलाई रोक्नुअघि महाधिवेशनमा थापा र शर्मालाई महामन्त्रीको उम्मेदवार बन्न दिन नहुने सर्त अघि सारेका थिए।
यसो हुँदा निधिले देउवालाई सहयोग गरी एक कार्यकाल उप–सभापतिमा नै बस्ने र अर्को कार्यकालमा सभापतिमा उठ्ने रणनीति बनाएका छन्। यहि बेला थापा वा शर्मा महामन्त्री पदमा निर्वाचित वा मनोनित भए अर्को कार्यकालमा सभापतिका स्वभाविक दाबेदार हुन सक्नेछन्।
कांग्रेसमा लोकप्रियता कमाएका युवा नेता पदाधिकारी भएको खण्डमा विधानले नै सभापतिमा उठ्ने बाटो खुला गर्दछ। एक कार्यकाल महामन्त्री भइसकेको व्यक्ति कांग्रेसको सभापति हुने वैधानिक हैसियत राख्दछ।
देउवाको वैकल्पिक रणनीति
निधिको यो सर्त पूरा गर्न नसकेको खण्डमा देउवाले अर्को वैकल्पिक रणनीति तय गरेका छन्। महाधिवेशन हुने सन्दर्भमा उनले कोइराला परिवारलाई नै सहयोग गरेर अगाडि बढ्न सक्नेछन्।
यता रामचन्द्र पौडेललाई सभापति पदमा रोक्नका लागि कोइराला परिवारका शेखर वा शशांकलाई सभापतिमा सहयोग गर्ने र उप–सभापति पदमा पत्नी आर्जु राणा देउवालाई सोही प्यानलमा छिराउने तयारी भएको स्रोतको दाबी छ।
‘मिल्न सक्ने खण्डमा आफैं सभापति बन्ने तर त्यस्तो अवस्था नआए पौडेल, निधिलगायतलाई रोक्न कोइराला परिवारलाई सहयोग गर्दै आर्जु राणालाई उपसभापति पदमा लैजाने मुडमा छन्, देउवा’, कांग्रेस उच्च स्रोतले भन्यो।
त्यसो त यो रणनीतिको नयाँ भनक पनि देखिएको छ। यस्तो सम्भावित समिकरणका निम्ति देउवानिकट मानिएका महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइरालाको भेटलाई बुझ्न सकिन्छ। आगामी महाधिवेशनका निम्ति हुने विभिन्न प्रकारका समिकरणकै छलफलका निम्ति त्यो भेट भएको र देउवाको परोक्ष सरोकार रहेको बताइन्छ।
उता पौडेल समूह भने देउवाले विभिन्न विभागहरूमा गरेका नियुक्ति खारेजीकै मागमा छन्। तर देउवा ति विभागलाई खारेज गर्ने पक्षमा छैनन्। अहिले कांग्रेसमा २८ बाट बढाएर ४० विभाग बनाइएका छन्।



कागजपत्र |
