

‘विश्वासको मत नपाएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु गलत’

काठमाडौं – पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतले संसद पुर्नस्थापनाको माग गर्दै सर्बोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा सरकारले बजेट ल्याउन आवश्यक नभएको बताएका छन् ।
विश्वासको मत नपाएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु गलत हुने बताउदै महतले बजेट अध्यादेश ल्याउनैपर्ने भएमा असारमसान्तसम्म सरकारले पर्खिनुपर्ने बताए ।
अदालतमा पुगेको संसद विघटनविरुद्धको मुद्दाको फैसला असार मसान्तसम्म नआउने अवस्थामा मात्रै सरकारले गत वर्षको बजेटको कार्यक्रमअनुसार नै कामचलाउ बजेट ल्याउनुपर्ने उनको मत छ ।
महतले भने यो चुनावी सरकार हो, यसले संसदमा विश्वासको मत पाएको छैन । प्रतिनिधिसभा पनि भंग गरेको यो सरकारले बजेट ल्याउन मिल्दैन । बजेट आएमा त्यो गलत हुन्छ ।

