प्रयोगशाला निर्माणका लागि १२ लाख सङ्कलन


तनहुँ – व्यासनगरपालिकाले वडा नं १० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र भवनलाई पिसिआर परीक्षण प्रयोगशाला बनाउनका लागि रु १२ लाख पचास हजार सङ्कलन भएको जनाएको छ । पिसिआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले व्यासका केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम स¬ङ्कलन भएको हो ।

करिब एक महिनाभित्र सेवा प्रदान गर्ने गरी छिट्टै बोलपत्र आह्वान गर्ने योजना रहेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। एक हप्ताको बोलपत्र आह्वानपश्चात् भौतिक संरचना निर्माण अघि बढाइने छ । उनले भए, ‘गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित जिल्लाका निवर्तमान सांसदबाट समेत आर्थिक सहयोगका लागि आश्वसन पाएका छौँ ।’

उक्त अभियानमा नगरपालिका मातहतका चौधवटै वडाका जनप्रतिनिधिलाई एक महिना बराबरको सुविधा सहयोग गर्न अनुरोध गरिएको छ । जिल्लामा पिसिआर परीक्षण प्रयोगशाला नहुँदा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँदा रिपोर्ट आउन एक हप्ताभन्दा बढी समय लाग्ने भएपछि छिटो सेवा दिन जिल्लामै पिसिआर परीक्षणको व्यवस्था गर्न लागिएको हो ।

केही दिनअघि नपा कार्यालयमा बसेको अन्तरपालिका बैठकले समेत जिल्लामै पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्नुपर्ने निर्णय गरेको थियो । व्यास–४ स्थित सिर्जनशील दिदीबहिनी समूहले प्रयोगशाला निर्माणका लागि रु ५० हजार पाँच सहयोग गरेको छ । प्रयोगशाला निर्माणका लागि सम्पूर्ण कर्मचारी, शिक्षक एवं अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थालगायत उद्योगी व्यवसायीलाई सहयोगका लागि अनुरोध गरिएको नपाले जनाएको छ ।

उक्त आधारभूत स्वास्थ्य केन्द्र परिसरमा रहेको करिब १० रोपनी सार्वजनिक जग्गा प्रयोगमा ल्याई अस्थायी संरचना निर्माण गर्ने योजना रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । उक्त स्थानमा कम्तीमा ५० शय्याको आइसोलेशनलगायतका संरचना निर्माण गरिनेछ ।

वृद्धभत्ता पत्रकार कल्याणकारी कोषमा
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा यहाँका एक ८० वर्षीय वृद्धले सोमबार आर्थिक सहयोग गरेका छन् । व्यास–७ पाथ्रा घर भई हाल व्यास–४ नमूना टोलमा बस्दै आउनुभएका मुक्तिनाथ न्यौपानेले सोमबार रु तीन हजार ५५, सहयोग गरेका हुन् । सरकारले दिएको वृद्धभत्ता रकमबाट आफूमा थोरै भए पनि सहयोग गर्ने इच्छा जागेकाले उक्त रकम सहयोग गरेको उनले बताए।

सोमबार एकै दिन विभिन्न व्यक्तिबाट गरी रु १० हजार ५५ रकम सहयोग प्राप्त भएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए । उनका अनुसार हाल कोषमा कूल रु ६३ हजार ३२५ सङ्कलन भइसकेको छ । कल्याणकारी कोषमा सङ्कलित रकमबाट जिल्लामा कार्यरत सञ्चारकर्मीको हितमा खर्च गरिने उनले बताए । कोषका लागि व्यास–१ भादगाउँ निवासी नेपाल तरूण दलका नेता सुनिल पन्थले रु दुई हजार, व्यास–४ का युवा व्यवसायी खेम गुरूङले रु दुई हजार ५०० सोही वडाका क्याप्टेन भरतबहादुर अधिकारीले रु दुई हजार ५०० सहयोग गरेका छन् ।

कोरोना सङ्क्रमितको गाउँमै उपचार
कोरोना महामारीबाट बिरामी भएकालाई गाउँमै उपचारको व्यवस्था मिलाइएपछि सहज भएको छ । सङ्क्रमण सङ्ख्या दैनिक बढ्दै जान थालेसँगै यहाँका १० वटै पालिकाले धमाधम आइसोलेशनकक्ष निर्माण गरेर गाउँमै उपचारको प्रबन्ध मिलाएपछि सहज भएको हो । जिल्लाको ऋषिङ गाउँपालिकाले पाँच शय्या क्षमताको सुविधासम्पन्न आइसोलेशनकक्ष निर्माण गरेकामा पुनः १५ शय्या थप गरी २० शय्या बनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी व्यास–२ स्थित साविकको कृषि विकास बैंकमा अक्सिजन सिलिण्डरसहितको ५० शय्याको आइसोलेशनकक्ष निर्माण गरिएको नपा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालमा चिकित्सक र अक्सिजन सिलिण्डरसहितको १५ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । शुक्लागण्डकी नगरपालिकाले पनि दुई स्थानमा गरी ६५ शय्याको अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेशन निर्माण गरेको नगरपालिकाका उपप्रमुख सविता रसाइलीले जानकारी दिए ।

त्यसैगरी भानुनगरपालिकाले भानु–५ स्थित पुरनडिही नगर अस्पतालमा अक्सिजनसहितको १७ शय्याको अक्सिजनसहित चिकित्सक रहने गरी आइसोलेशन निर्माण गरेको छ । आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिकले अहिले पाँच शय्या क्षमताको आइसोलेशन निर्माण गरेर सेवा प्रवाह गर्दै आएका छन् । तत्कालै पाँच शय्या थप गरी १० शय्या क्षमताको पु¥याउने लक्ष्य राखिएको ती पालिकाले जनाएका छन् ।

प्रारम्भिक उपचार गर्ने र जटिल हुँदै गएको अवस्थामा दमौली अस्पताल तथा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पठाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया