युभेन्ट्स सानदार जितसँगै च्याम्पियन्स लिगमा छनोट


काठमाडौं – इटालियन सिरी ए फुटबलअन्तर्गत गएरातिको खेलमा युभेन्ट्सले फराकिलो जीत हासिल गरेको छ। युभेन्ट्सले बोलोग्‍नालाई उसैको मैदानमा ४–१ ले हराएको हो।

युभेन्ट्सको जीतमा अल्भारो मोराटाले २ गोल गरे भने फेडेरिको चिजा र एड्रियन राबियटले १–१ गोल गरे। बोलोग्‍नाका रिकार्डो ओर्सोलिनीले गरेको गोल साान्त्वना बन्यो।

खेलको छैटौं मिनेटमा नै चिजाको गोलमार्फत युभेन्ट्सले अग्रता लिएको थियो। एड्रिएन राबीओटले प्रहार गरेको बल क्रसबारमा लागेर फर्केपछि चिजाले ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए।

२९औं मिनेटमा अल्भारो मोराटाले युभेन्टसको अग्रता दोब्बर पारे। पहिलो हाफको अन्तिम मिनेटमा राबियटले गोल गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए। उनले डेजान कुलुसेभ्सकीको पासलाई वान भर्सेस वानको स्थितिमा गोल गरे।

दोस्रो हाफको सुरुवातमा नै मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को स्कोर बनाए। उनले गोलरक्षकको लामो पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए।

८५औं मिनेटमा रिकार्डो ओर्सोलिनीले रोड्रीगो पालासियोको पासमा गोल गर्दै सान्तवना गोल फर्काए। युभेन्ट्सले जीत निकाल्दा नेपोली भेरोनासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्ट्स चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनौट भएको हो।

च्याम्पियन इन्टर मिलानसहित एसी मिलान एट्लान्टा र युभेन्ट्स इटालीबाट च्याम्पियन्स लिगका लागि छनौट भएका छन्।

प्रतिक्रिया